काठमाडौं, असोज ५ । सरकारले आन्दोलनरत शिक्षकहरूसँग शुक्रबार सिंहदरबारमा वार्ता गरिरहेको छ ।
विभिन्न १७ बुँदे मागसहित आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज तेस्रो दिन पनि प्रदर्शनको तयारी गरेका छन् । यसअघि बिहीवार दुईपटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलन र वार्ता सँगसँगै जाने बताएका छन् ।
शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका छन् । मन्त्रीहरुसँगको छलफलपछि शिक्षकका नेताहरुसँग वार्ता जारी छ ।
आन्दोलनका कारण आज पनि उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङगोमा पुर्याउन सरकारी वार्ताटोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिएका छन्।