Kath khabar
शनिबार देखि १९औँ एशियाली खेलकुद चीनको हाङ्चाओमा शुरु हुँदै

 

                  हाङ्चाओ, असोज ५ ।  चीनका हाङ्चाओ सहरमा शनिबार देखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा शुरु हुँदैछ । एशिया ओलम्पिक काउन्सिलका अनुसार २०२२ मा स्थगित भएको १९औँ एसियाली खेलकुद २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्ममा सारिएको थियो। 

समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार ५ सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र ४ सय ८१ प्रतिस्पर्धा हुनेछन् । एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरिया लगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड पनि चीनको औपचारिक भ्रमणका क्रममा उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

प्रतियोगितामा एशियाली मुलुकका कीर्तिमान धारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता हुनेछ । भविष्यमा हृदय देखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर) मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाओ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ । हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शो समेतको व्यवस्थापन गरिएको छ ।

एशियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ । प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी सहरमा समेत आयोजना हुनेछ । विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई-स्पोर्टस्मा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

करातेमा ८, गल्फमा ६, कुस्तीमा ४, ह्यान्डबलमा १६, जुडोमा ८, कबड्डीमा १२, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, फेन्सिङमा ६, टेबल टेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागीता हुन लागेको पहिलो घटना हो । नेपालले कराँते र तेक्वान्दो लगायत मार्सल आर्ट खेल विधामा विगत देखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दैआएको छ ।

प्रतियोगितामा मुलुकका ३ सुरक्षा निकायका विभागीय टोलीबाट १६२ जना खेलाडी सहभागिता रहनेछ । नेपाली सेनाका ६३, सशस्त्र प्रहरी बलका ५३ र नेपाल प्रहरीका ४६ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा भाग लिन केही खेलाडी प्रतियोगिता स्थल पुगिसकेका छन् भने केही जाने क्रममा छन् । क्रिकेट होस् वा अरु कुनै पनि खेल विधामा पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । एसियाडमा पदक लक्षित गरी नेपालले डेढ महिना देखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो ।

एशिया ओलम्पिक काउन्सिलका अनुसार खेलहरू २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हाङ्जाओमा आयोजना हुनेछ  ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update