Kath khabar
पूर्वराजा ज्ञानेन्द्र आज भक्तपुर जाँदै, तलेजु र भैरवनाथको दर्शन गर्ने कार्यक्रम

 

                   काठमाडौं, असोज ७ । पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार भक्तपुर जाँदै हुनुहुन्छ । पूर्व राजा ज्ञानेन्द्र शाह अपरान्ह २ बजे भक्तपुर दरवार स्क्वायरस्थित तलेजु भवानी र टौमढी टोलस्थित भैरवनाथ मन्दिरको दर्शन तथा पूजा गर्ने कार्यक्रम रहेको छ ।
 
पूर्वराजाको स्वागत, सत्कार गर्नका लागि स्थानीय समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिका संयोजक धौभडेलले पूर्वराजाको भक्तपुर भ्रमणलाई विशेष महत्व र प्राथमिकता दिएको बताए । पूर्वराजाको भ्रमणमा स्थानीय कला, संस्कृति झकल्ने परम्परागत शैलीमा स्वागत, सत्कार गरिने उनले बताएका छन् । समितिका सदस्य सचिव रामेश्वर थापाले स्वागत समारोह समिति कुनै पनि राजनीतिक एवं संगठनको रङको नभई विशुद्ध रूपमा सम्पूर्ण भक्तपुरवासीको प्रतिनिधित्व गर्दै गठन भएको प्रस्ट पारे ।   

तलेजु मन्दिरमा नित्य पूजाका पुजारीहरुले आज पूर्वराजा ज्ञानेन्द्रलाई तलेजु भवानीको नित्य पुजाको टीका, माला र प्रसाद दिनुहुने कार्यक्रम रहेको छ । तलेजु भवानीको पुजापछि पूर्वराजा ज्ञानेन्द्र दरवार स्क्वायरबाट टौमढी गएर श्री भैरवनाथको पुजा गर्नुको साथै सिद्धिलक्ष्मीको दर्शन गर्नहुने कार्यक्रम रहेको छ। साथै सोही दिन भक्तपुरको सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा पूर्वराजासँग देशको समसामयिक विषयमा सर्वसाधारणलगायत सञ्चारकर्मीहरूले अन्तरसंवाद गर्ने कार्यक्रम तय गरिएको जनाएको छ ।

अर्थात १४ औं शताब्दिको मल्लकालीन समय  तलेजु भवानी काठमाडौं उपत्यकामा आएपछि तत्कालिन मल्ल राजाले १५ औं शताब्दिमा सो मन्दिर स्थापना गरिएको इतिहास छ । मल्ल राजाको ५५ झ्याले दरवारको पश्चितर्फको मुलचोकमा रहेको मन्दिरमा आसीन तलेजु भवानी दरवार र राजाको शक्तिसंग सम्वन्धित रहेको जनश्रुती रहेको छ ।

शक्तिकी देवी तलेजु भवानीको मन्दिर वर्षमा एक पल्ट बडादशैंको नवौं दिन अर्थात नवमीको दिनमा मात्रै सर्वसाधारणको लागि खोल्ने गरिन्छ ।

 

 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update