महेन्द्रनगर, असोज ७ । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ, तर आफैले जन्माएको एक सन्तानलाई आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हात दुपट्टाले उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला ?
आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला ? ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी एक महिला कञ्चनपुरको बेलडाडी गाउँ पालिकाबाट पक्राउ परेकी छिन् ।
शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन् । पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी सर्मिला चौधरी पक्राउ परेकी छन् । चौधरीले आफैले जन्माएकी छोरीलाई उखुबारीमा एक हात बाँधेर छोडेको आरोपमा पक्राउ परेकी हुन् ।
शर्मिलाले यस अघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन् । केही समय विवाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसँग भागी विवाह गरेकी थिइन् । सर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर्व चौधरीसँग विवाद भएपछि बेलडाँडी ३ विवाहका प्रेम डगौरासँग भाग्न लागेकी सर्मिला शनिबार पक्राउ परेकी हुन् ।
शिशुका कारण श्रीमानसँग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत विवाहका प्रेम डगौरासँग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए । ‘नौ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा सर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा सर्मिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’
शुक्रबारै प्रहरीले बालकका मामा घरका आफन्तलाई शिशु जिम्मा लगाएको थियो । क्रूर अमानवीय ढङ्गबाट ति महिलाले शिशुलाई उखुबारीमा हात बाँधेर छाडेपछि शिशु रुन थालेपछि स्थानीयले महिला सन्तोषी चौधरीले बच्चा कराएको सुनेपछि प्रहरीलाई खबर गरेका थिइन् । पक्राउ परेकी महिलालाई आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।
उता आफ्नै कोखबाट जन्मिएको बच्चालाई यसरी शिशुलाई अमानवीय रुपमा उखुबारीमा छाडेर परपुरुषसँग भाग्ने महिलामाथि कानुनी कारबाहीको माग स्थानीयले अघि सारेका छन् । (राजधानी दैनिकबाट)