काठमाडौं, असोज ७ । एकजना सिख पृथकतावादी नेताको हत्यालाई लिएर क्यानडा र भारतबीचको विवादले ‘डायस्पोरा’मा रहेका केही सिख र हिन्दूबीच राजनैतिक टकराव निम्तिएको छ।
यद्यपि कतिपयले त्यस्तो विश्लेषणलाई बढाइचढाइ गरिएको भनेका छन्। क्यानडाको भूमिमा भएको हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको हुनसक्ने त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रूडोले सोमवार सार्वजनिक रूपमा आरोप लगाएका थिए।
त्यसपछि अमेरिकामा रहेको सिख पृथकतावादी समूहका प्रमुखले हिन्दू क्यानेडियनहरूलाई भारत फर्कन आह्वान गरेको देखिने एउटा भिडिओको अंश सामाजिक सञ्जालमा देखा पर्यो।
हिन्दूलाई चेतावनी दिइएको भिडिओ
'इन्डो-क्यानेडियन हिन्दूहरू, तिमीहरूले क्यानडा र क्यानडाको संविधानप्रति आफ्नो निष्ठा अस्वीकार गर्यौ', ‘सिख फर जस्टिस’का प्रमुख गुर्पत्वन्त सिंह पन्नुनले सेप्टेम्बर १२ मा लिइएको भिडिओमा भनेका छन्।
'तिमीहरूको गन्तव्य भारत हो। क्यानडा छाड र भारत जाओ', भिडिओमा उनले भनेका छन्। पन्नुन क्यानेडियन र अमेरिकी दोहोरो नागरिकता भएका व्यक्ति हुन्। उनी निज्जरका साथी थिए। उनको भिडिओ अनलाइन र भारतीय सञ्चारमाध्यममा व्यापक रूपमा फैलिएको थियो।
उक्त हत्याको घटना र त्यसपछिका कतिपय अभिव्यक्तिले क्यानडामा रहेका भारतीय डायस्पोराभित्र स्पष्ट विभाजन देखाएको छ। यद्यपि क्यानडाले त्यसमा भारतको हात रहेको आरोप लगाएपछि तनावलाई केही कम गरेको जस्तो देखिन्छ। भारतले चाहिँ निज्जरको हत्यामा उसको संलग्नतालाई अस्वीकार गरेको छ।
निज्जरको हत्यापछि क्यानडामा तनाव बढेको थियो। उनको हत्यापछि उनका समर्थकहरूले क्यानडाभरि विरोध प्रदर्शन गरेका थिए र उनको मृत्युमा भारतको हात रहेको आरोप लगाएका थिए। ती प्रदर्शनहरूले भारत सरकारका समर्थकहरूको विरोधको सामना पनि गर्नुपरेको थियो।
ती प्रदर्शनका पोस्टरहरूमा भारतीय कूटनीतिज्ञहरूलाई 'हत्यारा' भनेर आरोप लगाइएको थियो। त्यस्तो आरोपको नयाँ दिल्लीका अधिकारीहरूले निन्दा गरेका थिए। भारतले क्यानडामा हिन्दू मन्दिरहरूलाई लक्षित गरेर ूभारत विरोधी भित्तेचित्रू टाँस्नुका साथै तोडफोड गरिएको बारे पनि बोलेको छ।
निज्जर भारतीय राज्य पञ्जाबमा सिखहरूका लागि छुट्टै मातृभूमि अर्थात् खालिस्तान राज्यको निर्माण हुनुपर्छ भन्ने पक्षमा पैरवी गर्ने व्यक्ति थिए। भारतले खालिस्तान आन्दोलनको कडा विरोध गर्ने गरेको छ र निज्जरलाई आतङ्कवादीका रूपमा हेर्ने गर्थ्यो।
बीबीसीसँगको एक अन्तर्वार्तामा पन्नुनले आफ्नो टिप्पणी सबै हिन्दूहरू लक्षित नभएको तर भारत सरकारको स्वार्थसँग मिल्नेलाई लक्षित गरिएको बताए र उनको दाबीमा त्यस्ता हिन्दूहरू बहुसङ्ख्यक छन्। बीबीसीसँग कुरा गरेका इन्डो-क्यानेडियनहरूले भने आफ्नो समुदाय क्यानाडाको आरोपबाट अचम्ममा परेको बताए। यद्यपि आफूहरूले सुरक्षामा कुनै खतरा भएको वा त्यस्तो खतरा बढेको अनुभव नगरेको बताए।
क्यानडामा दुवै देशसँग गहिरो सम्बन्ध भएका इन्डो(क्यानाडेलीहरूको जनसङ्ख्या ठूलो छ। क्यानडामा विभिन्न धार्मिक र सामाजिक-आर्थिक पृष्ठभूमि भएका भारतीय मूलका १८ लाख ६० हजार बासिन्दा छन्। (बीबीसी नेपाली)