Kath khabar
चाँगुनारायणको शिक्षाको विकासका लागि जेल जानुपरे म जान्छु : मेयर खत्री


                         भक्तपुर, असोज ८ । भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले चाँगुनारायण नगरपालिकाको शिक्षाको विकासका लागि जेल जानु परेमा सबैभन्दा पहिला आफू जेल जान तयार रहेको बताएका छन् । नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुनारायण नगरपालिका ४ भक्तपुरको सोमबार भएको २९ औं वार्षिक उत्सव समारोह उद्घाटनमा उनले असल काम गरेर जेल जानु परे आफू जान तयार रहेको बताए ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायण भक्तपुर निजी हो कि गैरनाफामुखी रुपमा सञ्चालित कलेज भनेर लामो समयदेखि विवाद छ । यही विवादका बीचमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको अध्यक्षतामा सञ्चालक समिति गठन गरिदिएको थियो । त्यस अनुसार मेयर खत्रीले कार्यभार पनि सम्हालिसकेका छन् । कार्यभार सम्हालेसँगै उनले कुनै हालतमा निजी बनाउन नदिने अठोट गर्दै काम गर्दै आएका छन् । यो क्रममा नाफा नलिने उद्देश्यका साथ सञ्चालित कलेजलाई निजी बनाउन खोजे जेल गएर पनि कलेजलाई सामुदायिक नै बनाएर छोडे आशय उनको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री कृष्णलाल भँंडेलले पनि सामुदायिक रुपमा उहिलेदेखि चल्दै आएको कलेजलाई कसैले पनि निजी बनाउने काम गरे त्यो आफूहरूको लागि सह्य नहुने बताए । उनले यसको लागि जस्तोसुकै कदम अगाडि बढाउन पनि आफूहरु पछि नपर्ने विश्वस्त तुल्याए ।

बागमति प्रदेशका सदस्य सभाषद् सुरेश श्रेष्ठले २९ वर्षको उमेरमा पुगेको कलेज लक्का जवान हुनुपर्नेमा व्यवस्थापनको अनेक विवादका कारण विरामी परेजस्तै भएको भन्दै दुःख व्यक्त गरे । कलेजलाई बागमतीकै प्राविधिक शिक्षा अध्यापन हुने पहिलो विश्वविद्यालयका लागि बागमती प्रदेशका मुख्यमन्त्रीसँंग आफूले छलफल गरेको स्मरण उनले गरे ।

कार्यक्रममा कलेजका संस्थापक सञ्चालक प्रतिनिधि ई शशिल भटराई, कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारी, कलेज सञ्चालक समितिका सदस्यहरु सोम प्रधान, दिनेश खनाल, नरेश खड्का, नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाही, नेपाल सरकारका सचिव मणिराम गेलाललगायतले तत्कालीन चाँंगुनारायण गाविसबाट एक सय ७८ रोपनी जग्गा भोगचलनको अधिकार पाएर कलेज सञ्चालन भएको स्मरण गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलहरुकोतर्फबाट नेपाली कांग्रेसबाट शिवहरि केसी, नेकपा एसबाट अन्जना पोखरेल, राप्रपाबाट रमेश अधिकारीलगायतले कलेजको हितको विविध पक्षमा चर्चा गरे । साथै कार्यक्रममा कलेजका विभिन्न संगठनका प्रमुखहरु प्रजातन्त्रवादी प्राध्यापक सङ्घबाट दीपक धामी, प्रगतिशील प्राध्यापक संघबाट दिगम्बर खोटेजा, स्वतन्त्र कर्मचारी संघबाट मनोहर खनाल, कर्मचारी संघबाट श्रीराम खनाल, एसोसिएट प्रोफेसर यमकृष्ण पौडेललगायतले सामूहिक प्रयासबाट मात्रै कलेजको उन्नति हुनसक्ने बताए ।

कार्यक्रममा कलेजमा २० वर्ष सेवा अवधि पूरा गरेका एकजना पूर्व उपप्राचार्य दीपक धामी र चार जना कर्मचारी गरी कुल पाँंचजनालाई नगद, प्रमाणपत्र, दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसअघि कलेज सञ्चालक समितिका संस्थापक अध्यक्ष स्वर्गीय दीपक भट्टराईको शालिकमा माल्यार्पण गरिएको थियो ।  

 

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update