काठमाडौं, असोज ८ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ ।
चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने क्रममा गएको बिहीवार शङ्कास्पद गोदाममा सिल गरेको विभागका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौंको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले चिनीको गोदाम सिल गरेर गुणस्तर जाँचका लागि नमुना प्रयोगशालामा पठाएको उहाँले बताउनुभयो । भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन पर्खिरहेको उहाँले बताउनुभयो ।
केही समय देखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । १ महिना अघिसम्म किलोको १ सय रुपैयाँमा पाइने चिनी अहिले १ सय ३० रुपैयाँ भन्दा धेरै पुगेको छ ।