Kath khabar
सन्दीप लामिछाने एसियाली गेममा सहभागी हुने, आज चीन जाँदै
File Photo

 

                  काठमाडौं, असोज ९ । एसियन गेममा सहभागी हुनको लागि क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन् । लामिछाने आज मंगलबार साढे १२ बजेको चीन जान लागेका हुन् ।

एसियन गेममा सहभागी हुन नेपाली क्रिकेट टोली आइतबार नै चीन प्रस्थान गरिसकेको छ । सन्दीप सोमबार जाने कार्यक्रम थियो तर उनीमाथि लागेको बलात्कारको आरोपमा अन्तिम फैसला सुनाउन उनी जिल्ला अदालतमा हाजिर हुनुपर्ने थियो । तर, अदालतले उनको फैसलामा पटक–पटक ढिलाइ गर्दै आएको छ । उनले आफू पनि मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए ।  

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सोमबार राति सन्दीपलाई भेटेपछि उनी चीन जान तयार भएका हुन् । पारसले सन्दीपलाई उनको सरोकारका विषयहरू सम्बोधन गर्न आफूले सक्दो कोसिस गर्ने बताएका छन् । नेपाली टोलीले एसियन गेममा बुधबार मलेसियासँग खेल्दैछ । 

त्यस्तै, स्पिनर सागर ढकाल पनि नेपाली टोलीमा आउनेछन् । दुवै आज उडान भर्दैछन् । स्टार लेग स्पिनर सन्दीपको समावेशले निश्चित रूपमा टोलीको मनोबल बढाउने क्यानले जनाएको छ ।

समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल बुधबार मंगोलियासँग र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

नेपाली क्रिकेट टिम
रोहित पौडेल (कप्तान), करण केसी, प्रतिस जिसी, आसिफ शेख (विके), कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, विवेक कुमार यादव, अविनाश बोहरा, सन्दीप लामिछाने। सागर ढकाल

एशियाड २०२३ मा समूह चरणमा मङ्गोलिया, जापान, सिंगापुर, कम्बोडिया, हङकङ, थाइल्याण्ड, माल्दिभ्स र मलेसियाले खेल्नेछन् । तर, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधै फाइनलमा पुग्नेछन् ।

 

  

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update