काठमाडौं, असोज ९ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृका यादव सहितका नेताहरूका कारण मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका छन्।
समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले ५ जना चिकित्सकलाई लैजान नसकिने बताएका थिए। त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेका हुन्। चिकित्सकहरूलाई त्यहीँ छाडेर अहिले विमान मुगुबाट उडिसकेको छ।
माओवादी उपमहासचिव यादव सहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाश बहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्ड सम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो। टोलीमा डा. विमल पाण्डे, डा. व्यापक पौडेल, डा. सुरज बज्रचार्य, डा. गौरव ढकाल लगायत छन्।
‘हामीले दुई हप्ताअघि नै आउनजाने (टु वे) को टिकट काटेका थियौं। हाम्रो १६ जनाको समूह रहेको छ। समूहमा आजै शल्यक्रिया गनुपर्ने बिरामी समेत हुनुहुन्छ। ५ जनालाई यहीँ छाड्ने बताएपछि हामी कोही पनि गएनौं। जहाजचाहिँ उडिसकेको छ,’ एक चिकित्सकले भने।
यसबारे हामीले चिकित्सकलाई टिकट मिलाइदिने नेपालगञ्ज विमानस्थलमा रहेका चक्र न्यौपानेसँग कुराकानी गरेका थियौं। उनले पूर्वमुख्यमन्त्री (महेन्द्र बहादुर शाही) लगायतबाट अनुरोध आएकाले केही चिकित्सकलाई सिट नपुगेको बताए।
‘पूर्व मुख्यमन्त्रीसहित नेताहरूको आजै दोलखा जानुपर्ने रहेछ। जरूरी पर्यो भनेपछि चिकित्सकको टोलीलाई भोलि ल्याउने भनेका हौं,’ उनले भने। त्यसपछि समिट एयरले मुगुको ताल्चा विमानस्थलमा छाडेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ।
टिकट लिइसकेका चिकित्सकहरूलाई समिटको जहाजले छाडेर नेपालगञ्ज विमानस्थल उडेको थियो। विमानस्थलमा १६ जना चिकित्सक छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले छुटेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको बताए।
‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दुखित बनायो। गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
माओवादीको कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पर्यटन मन्त्री किराँतीलाई फोन गरेर चिकित्सकहरूलाई लिन जाने जहाजको व्यवस्था गरिदिन आग्रह गरिएको बताएकी थिइन्।