Kath khabar
आजबाट इन्द्रजात्रा सुरु, जात्रा अवधीभर काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

 

                      काठमाडौं, असोज ९ । इन्द्रजात्रा (येँया) पर्व आजबाट सुरू भएको छ । काठमाडौं महानगरपालिकाले  येँया (इन्द्रजात्रा) को अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको जनाएको छ ।

महानगरले वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भइसकेका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालापहरु हिँडेर सञ्चालन गरिने जनाएको छ । साथै तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग पुर्‍याउन समेत महानगरपालिकाले आग्रह गरेको छ ।

यो बर्ष कुमारी रथयात्रा असोज ११ गते सुरु हुनेछ । यस दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । यस दिनको रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नु हुनेछ । यस दिनको रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा रहेको छ ।  

असोज १२ गते माथिल्लो टोल (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । रथ यात्राका समयमा पञ्चवुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरु भैरवको रथको पछाडि र कुमारीको रथको अगाडि हिँड्ने चलन छ ।

२०८० आश्विन १५ गते नानीचाका दिन (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरुले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरुले तान्न थालेका हुन् । यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यस दिन बेलुका ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस बर्षका लागि इन्द्र जात्राका कार्यक्रम सकिनेछन् ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update