Kath khabar
सभागृह अगाडि उभिएर विरोध जनाइरहेका अभियन्ता 'ई' सँग उपमेयर सुनिता डङ्गोल

 

               काठमाडौं, असोज ९ ।  फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाइरहेका अभियन्ता 'ई' लाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोलले भेटेकी छिन् ।

भेटमा उहाँले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताउनु भएको 'ई' ले जानकारी दिएका छन् । 

'ई' ले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् : ‘१६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो। हाम्रो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो,’ ‘फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो ।’ अभियन्ता 'ई' एक हप्ता देखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका छन् । काठमाडौं महानगरले सडक पेटीमा व्यापार निषेध गरेको छ ।

यदाकदा भेटिइ हाल्यो भने नगर प्रहरीले व्यापारीको सामान खोस्ने, ठेला गाडा जफत गर्ने गरेको छ । यतिले नपुगेर हातपात समेत हुने गरेको छ । 'ई' को विरोध यसैमा हो । आश गरेको नेतृत्वले अहिले निराश पारिरहेको 'ई' को गुनासो छ ।

ईः ले गरिब हैन गरिबी हटाउन माग गर्दै महानगरका मेयर बालेन शाहसँग जवाफ मागिरहेका छन् । ‘इनफ इज इनफ’ भन्ने आन्दोलनबाट उदाएका ई: को नाम इशान अधिकारी हो । तर उनी नाम थर खुलाउन चाहदैनन् । कोभिड महामारीको बेला सरकारविरुद्ध उनी २३ दिन ‘अनसन’ बसेका थिए । संविधान जारी भएपछि ‘यो मेरो संविधान होइन’ भन्ने अभियानका क्रममा उनले सिंहदरवारको पर्खालमा रातो पोतेर चर्चामा आएका थिए ।

कांग्रेस महामन्त्री गगन थापाले पनि आइतबार ईः लगायतका युवाको धर्नाबारे मेयर बालेनले आन्दोलनकर्मीसँग वार्ता गर्नुपर्ने सुझाएका थिए । अभियन्ता ई: को प्रदर्शनमा साथ दिन राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् भने सडक व्यापारीहरु पनि ‘ई’ को पक्षमा ऐक्यबद्धता जनाउन पुगेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update