Kath khabar
हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइ ध्वजोत्थान गरेसँगै शुरु भयो इन्द्रजात्रा

 

                     काठमाडौं, असोज ९ । हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ । हनुमानढोकामा रहेको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा शुरु हुन्छ ।

नेपाली सेनाको सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन सुरु भएको हो । योसिँ ठड्याएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ । लिङ्गो ठड्याएपछि जात्राको मुख्य दिनमा कुमारीलाई टोल यात्रा गराइने परम्परा छ ।

इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा नेवारी समुदायले मनाउने जात्रा हो । यसवर्ष इन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update