Kath khabar
अमेरिका, चीन र कोरियाका प्रमुख शहरका प्रमुखहरू इन्द्रजात्रा हेर्न काठमाडौंमा

 

                   काठमाडौं, असोज १० ।  काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौं आइसकेका छन्। ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इन्द्रध्वज सहितको लिङ्गो ठड्याएर विधिवत रुपमा शुरुवात भइसकेको छ। 

यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुना सहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी भएका छन्। चीन, अमेरिका र कोरियाका केही सहरका प्रमुख नेपाल आइसकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ साल देखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो। भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइए पछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ। 

कामपाले इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा सांस्कृतिक, सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै प्रवक्ता मानन्धरले जीवित देवीकुमारी, गणेश र भैरवको रथारोहण, रथयात्रा, विभिन्न परम्परागत वाद्यवादन, गायन, नाचजस्ता कार्यक्रम सञ्चालन गरेर नेपालको बारेमा जानकारी दिन पाहुनालाई निमन्त्रण गरेको बताए।

जात्राको शुरूको दिन हिजो दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गरिएको छ। भोलि असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो। उक्त दिन सरकारले सार्वजनिक बिदा पनि दिएको छ। सो दिन बढी भीडभाड हुने भएकाले विशेष सुरक्षा बढाएको छ। उक्त दिन १८० स्वयंसेवक परिचालन गरी नेपाल प्रहरी, कामपा र सशस्त्र प्रहरीले विशेष सुरक्षा दिने छ। जात्रा अवधिमा आगलागी नियन्त्रण गर्ने वारुणयन्त्रको समेत व्यवस्था गरिएको जनाइएको छ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update