काठमाडौं, असोज १० । अब नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालमा १०० दर भन्दा ठुला दरका भारतीय रुपियाँका नोट साथमा राख्न, ओसार पसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको मङ्गलबार एक सूचना मार्फत जानकारी गराएको छ ।
भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन र लैजान सकिने जनाउँदै राष्ट्र बैङ्कले त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ । भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।
भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने बताइएको छ । कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टिटी, कार्ड मार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागु नहुने राष्ट्र बैङ्कले जनाएको छ ।