Kath khabar
ओखलढुङ्गा सुनकोशी १० का वडाध्यक्ष बलात्कारको आरोपमा पक्राउ 

 

                ओखलढुङ्गा, असोज १० ।  ओखलढुङ्गाको सुनकोशी गाउँपालिका १० का वडा अध्यक्ष छविरमण धमलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  स्थानीय एक २५ वर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको हो । 

आइतबार ओखलढुङ्गा जिल्ला अदालतबाट पक्राउ गर्ने पुर्जी प्राप्त गरेको प्रहरीले मंगलबार सिद्धिचरण नगरपालिकाबाट धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । 

जिल्ला अदालतबाट ७ दिनको म्याद लिई धमलालाई हिरासतमा राखेर घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । धमलाले फेसबुक मार्फत स्टाटस लेख्दै षड्यन्त्र गरेर आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् । अदालतको आदेशसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । पदीय जिम्मेवारीमा रहँदै यौनजन्य अपराधको कसुर लागेको यो दोस्रो घटना हो । अघिल्लो कार्यकालमा लिखु गाउँपालिकाका एक वडासदस्यलाई पनि बलात्कारको मुद्दा लागेको थियो । उनी अहिले जेलमै छन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update