Kath khabar
सुरक्षित भविष्यको खोजीमा बिमल घर्ति मगर पनि अष्ट्रेलिया पलायन 

 

                 काठमाडौं, असोज १२ । पछिल्लो समय अधिकांश नेपाली फुटबलरहरु सुरक्षित भविष्य र राम्रो आम्दानीको खोजीमा विदेश पलायन हुने क्रम बढेको छ । यस्तै खेलाडीको सूचीमा राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्तीमगर पनि थपिएका छन् ।

सुरक्षित भविष्यको खोजीमा बिमल पनि अष्ट्रेलिया लागेका छन् । केही समयअघि विवाह बन्धनमा बाँधिएका बिमलले समेत नयाँ गन्तव्यको रुपमा बिदेशनै रोजेका छन् । बिमलको विदेश पलायनले खेल क्षेत्रलाई स्तब्ध बनाएको छ । घरेलु फुटबलको संरचना गतिलो र बलियो नहुँदा वर्षभरी खेल्न नपाउने पिडा उनीहरुसँग छ ।

उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म आईपुगेका बिमल पछिल्लो पुस्ताको नेपाली फुटबलका उत्कृष्ट फरवार्ड मानिन्छन् । उनले करियरको शुरुआतमा युरोपेली फुटबलमा आबद्ध हुन प्रयास गरेका थिए । युवा अवस्थामै प्राप्त स्टारडमले उनलाई पछिल्लो एक दशक नेपाली फुटबलको लोकप्रिय फुटबलर बनाएको थियो ।

उनकै नेतृत्वमा नेपालले यू-१९ साफ च्याम्पियनसिप जित्दै अन्तराष्ट्रिय फुटबलमा उपाधिको ढोका खोलेको थियो । उनले नेपालका लागि यू-१९ साफ च्याम्पियनसिप सहित साग गेम्स, बंगबन्धु कप, एएफसी सोलिडारिटी सहित विभिन्न उपाधि जितेका छन् । 

उनले नेपालको घरेलु फुटबलमा थ्री स्टारबाट भारतको बार्दोलोइ ट्रफी देखि मछिन्द्र फुटबल क्लबबाट २ पटक लिग उपाधि जितेका छन् । मोफसलबाट काठमाडौं आएर अन्तराष्ट्रिय स्तरमा नाम कमाएका फुटबलरले करियरको बिट मार्दै विदेशीने निर्णय लिएका हुन् । करियरको उच्च फर्ममा रहने उमेरमा उनले विदेशीने निर्णय लिदाँ सबैभन्दा घाटा नेपाली फुटबललाई परेको छ । 

नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीका लागि प्रमुख खेलाडीको भूमिका निर्वाह गरेका विमलले आफ्नो सम्झौता खारेज गर्दै अष्ट्रेलिया गएका छन् । यसले नेपाली फुटबलरहरुको विदेशमा अवसर खोज्ने बढ्दो प्रवृत्तिमा अर्को थपिँदै गएको छ ।

पछिल्लो समय नेपाली फुटबल प्रतिभाको उल्लेखनीय पलायनले एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया सरेको देखिएको छ । जसमा दिनेश राजवंशी, सुमन अर्याल, मिक्चेन तामाङ, हेमन्त थापा मगर, नितिन थापा, तेज तामाङ, अभिषेक रिजाल, दीपकसिंह ठकुरी, विमल राना, रेगिने सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान जस्ता प्रमुख नाम छन् ।

सिनियर टोलीको मेरुदण्ड मानिने सम्पूर्ण पुस्ताको स्थानान्तरणले राष्ट्रिय टोलीको सन्तुलनलाई सम्भावित रूपमा बाधा पुर्‍याउन सक्छ। यस क्षेत्रका विज्ञहरूले यस प्रवृत्तिको सम्भावित नतिजाको बारेमा चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update