Kath khabar
काठमाडौंका विभिन्न स्थानमा सवारी साधन प्रवेश निषेध

 

                  काठमाडौं, असोज १२ ।  काठमाडौंका विभिन्न स्थानमा आज पनि सवारी साधन आवागमन प्रभावित हुने भएको छ। इन्द्रजात्राको चौथो दिनको जात्राका कारण बसन्तपुर क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताइएको छ।

काठमाडौं महानगरपालिकाले यस अघिनै जारी गरेको सूचना अनुसार आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने भएकाले त्यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ।

सवारी साधन प्रवेशमा रोक लगाइएकाले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल लगायतका भीभीआइपीहरू हिँडेरै न्युरोडबाट वसन्तपुर पुगेका थिए। काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याए पछि मंगलबार देखि शुरू भएको इन्द्रजात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ।

इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरले आग्रह गरेको छ।

roadplan1695970989.jpg

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update