काठमाडौं, असोज १२ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रर्वद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन गरिएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गर्नुभयो । नेपाललाई आत्मनिर्भर बनाउनका लागि तथा स्वदेशी उद्योगको प्रवर्द्धन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताउनुभयो । साथै नेपाली उत्पादनहरु प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गर्नुभयो ।
यसैगरी उक्त उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल जुत्ता चप्पल उत्पादन संघका अध्यक्ष नानिराज घिमिरेले नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरूको समुहद्धारा स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरूको बीचमा पुर्याउने र आम उपभोक्ताहरूलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुचि जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरुमा विभिन्न खालका मेला महोत्सवहरू आयोजना गर्दै आइरहेको जानकारी गराउनुभयो ।
जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव आश्विन १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । बिहान ९.०० वजे देखि बेलुकी ७.०० वजे सम्म खुल्ला रहने महोत्सवमा न्युनतम २० प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू रोयल शु इन्डष्ट्रिजको उत्पादन –रोयल सुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुराँस फुटवेयरको – क्रस रोड सुज, शुभकामना फुटवेयरको – फस्टवाक सुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाइफ, केटिएम सुजको –केटिएम, डि.जे. सुज कम्पनीको – डि.जे. सुज, फुड फेशनको – वेली सुज, सर अनिल ट्रेडलिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र ब्राण्डहरूको सहभागिता रहेको छ ।
यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।