Kath khabar
अस्ट्रेलियन इयान एन्ड्रयु गिलान ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षकमा अनुबन्ध

 

               ललितपुर, असोज १२ ।  ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि अस्ट्रेलियाका इयान एन्ड्रयु गिलानलाई मुख्य प्रशिक्षकको रूपमा अनुबन्ध गरेको छ ।

क्लबले सामाजिक सञ्जाल मार्फत गिलानलाई प्रशिक्षकको रुपमा अनुबन्धन गरेको बताएको हो । ५८ वर्षिय गिलानसँग फुटबल प्रशिक्षणको राम्रो अनुभव छ । उनले अस्ट्रेलिया, मलेसिया, फिलिपिन्स र इन्डोनेसियाका क्लबहरुमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

गिलानले पछिल्लो पटक इन्डोनेसियको पर्साटुआन सेपाक बोला इन्डोनेसिया सेमारंग (पिएसआइएस) को प्रशिक्षण सम्हालेका थिए । क्लबले बिहीबार मात्र राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको थियो ।

मंसिर ८ गतेबाट शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।

यसअघि नै १० टोली बनाउँदै आयोजक नेपाल स्पोर्टस एन्ड एभेन्ट म्यानेजमेन्ट प्रालीले खेलाडी छनोट गरेको थियो । तर, समयमै एनएसएल हुन सकेन । अधिकांश ड्राफका खेलाडी विदेश पलायन भएका छन् । जसका कारण आयोजकले असोज १३ गते पुनः अक्सन गर्दैछ ।

गत सिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिए पछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । अघिल्लो संस्करणका ६ टोली विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update