Kath khabar
हुम्लामा अनुदानमा बिक्री गरिएको चामल कुहिएको


                   हुम्ला, असोज १२ ।  हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको चामल बिक्री गरेको छ । काठमाडौं देखि केरुङ नाका हुँदै हुम्लाको हिल्सा नाकाबाट नाम्खा गाउँपालिका-५ मुचु, सब्बामा पुर्‍याएर ५० परिवारलाई बिक्री गरिएको चामल कुहिएको पाइएको हो । खाद्यले यहाँ सोमबार र मंगलबार १२५ क्विन्टल चामल बिक्री गरेको थियो । 

नाम्खा-५ का सम्बाका रिन्जिन तामाङले आफूले ४ बोरा चामल किनेकामा २ बोरा कुहिएको पाइएको बताए । ‘चामल भिजेर डल्लैडल्ला परेको छ, खानै नमिल्ने गरी कुहिएको छ,’ उनले भने, ‘२ बोरा भने राम्रो छ ।’ स्थानीय आङमु लामाले पनि ३ बोरा चामल कुहिएको फेला परेको बताइन् ।

खाद्यले २५ किलोको १ बोरा चामल अनुदानमा २ हजार ३ सय ७५ रुपैयाँमा बिक्री गरेको थियो । ‘पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको छ । अब के गर्ने ?’ टुन्डुप तामाङले भने । खाद्यबाट किनिएको चामल कुहिएको पाइए पछि स्थानीयले बोरा खोलेर घाममा सुकाउने गरेको स्थानीय लोप्चाङ तामाङले बताए । ‘डल्लैडल्ला परेको चामल घाममा सुकाउँदा पनि खान नमिल्ने छ,’ उनले भने ।

खाद्य कम्पनीले हुम्लामा अनुदानको खाद्यान्न ढुवानीको जिम्मा खहरे डिलाइट निर्माण जेभीलाई दिएको थियो । खहरे डिलाइटका प्रोपाइटर पासाङ शेर्पाले ढुवानीका क्रममा हिल्सा नाकामा २ दिन पानीमा भिजेकाले चामलमा समस्या आएको बताए । ‘चामल राख्ने गोदाम थिएन । गेटनजिकै त्रिपालले छोपेर राखेको थियौँ,’ उनले भने, ‘जमिन निरको भागमा पानी पसेर भिजेको हो । बिग्रेको चामल फिर्ता लिएर राम्रो दिन्छौँ ।’

खहरे डिलाइटले नाम्खाका लागि हजार क्विन्टल र सदरमुकाम सिमकोटस्थित खाद्यको शाखाका लागि ३ हजार क्विन्टल गरी ४ हजार क्विन्टल चामल ढुवानीको ठेक्का पाएको थियो । काठमाडौंबाट केरुङ हुँदै नाम्खाको केन्द्रसम्म प्रतिकेजी ४८ रुपैयाँ र सिमकोटसम्म प्रतिकेजी ८७ रुपैयाँ ढुवानी भाडा लागेको उनले बताए । खाद्यको सिमकोट शाखाका सुब्बा नवीन आचार्यले पनि हिल्सामा गोदाम नहुँदा समस्या भएको बताए । ‘चामल ठेकेदारले बिक्री गरेको हो, हामीले होइन । अब ठेकेदारले बिग्रेको चामल फिर्ता गरेर नयाँ दिनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update