काठमाडौं, असोज १४ । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको छ । गए राति देखि देशका केही ठाउँमा पानी परिरहेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले कोशी र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका १/२ ठाउँमा हल्का वर्षा भइरहेको छ ।
आज देशका धेरैजसो ठाउँमा हल्का देखि मध्यम वर्षाको अनुमान गरिएको छ । भोलि र पर्सि भने ठूलो पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको छ । यसकै कारण कोशी, मधेस, बाग्मती, लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै, यो प्रणालीसँगै स्थानीय वायुको प्रभाव मिसिँदा केही ठाउँमा एकैछिनमा आरीघोप्टे वर्षा समेत हुने मौसमविद् अधिकारीले बताउनुभयो । केही दिन अघिसम्म मनसुन कमजोर थियो । जसले गर्दा खासै पानी परेको थिएन । तर, अस्ति शुक्रवार देखि धेरै ठाउँमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । अबको ३ दिन मौसम यस्तै रहने सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । आफूले यात्रा गर्ने बेला सडकको अवस्था र मौसम सम्बन्धी जानकारी लिन मौसमविद्ले सुझाव दिएका हुन् ।
बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिन, खोला तथा नदी आसपासका क्षेत्रमा बसोबास भएकालाई उच्च सतर्कता अपनाउन पनि मौसमविद्को आग्रह छ । यसपालि मनसुन ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालबाट अक्टोबर २ तारिख अर्थात् भोलि मनसुन बाहिरिने गर्छ । तर, यसपालि अन्तिमतिर मनसुन फेरि सक्रिय भएको छ ।
नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो । सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । तर यसमा १/२ दिन तल माथि हुने गरेको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा १ दिन ढिला गरी नेपाल भित्रिएको थियो ।