काठमाडौं, असोज १४ । अभिनेता अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएको छ । उनलाई म्याद थप गर्न लैजान टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय लगिएको हो ।
एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेको भन्दै ‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले गत भदौ ८ गते उनीविरुद्ध आपराधिक विश्वासघातको उजुरी अपराध महाशाखा बानेश्वरमा दिएकी थिइन् । त्यही उजुरीको आधारमा उनलाई शुक्रबार दिउँसो साँगाबाट पक्राउ गरिएको थियो । पक्राउ परेकै राति अनमोलको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार नै उनलाई महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो ।
अभिनेता अनमोल केसीले पक्राउ पर्नुभन्दा दुई दिन अगाडि नै उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश लिएको भेटिएको छ । अदालतले असोज १० गते बुधबार उनलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अनमोलका निजी वकिल परशुराम कोइरालाले भने उच्च अदालत पाटनबाट ‘स्टे अर्डर’ जारी भैसकेपछि पनि पक्राउ गरेर प्रहरीले शक्तिको दुरुपयोग गरेको बताएका छन् ।
अधिवक्ता कोइरालाका अनुसार अनमोलले फिल्म गर्दिन कहिल्यै नभनेको तर स्क्रिप्ट अलि मिलाउन आग्रह गरेका बताएका छन् । उनका अनुसार अनमोलले फिल्ममा आफूलाई लिने भए ६/७ महिना पछाडिको समय दिएका थिए । उजुरीमा निर्माताले अभिनयका लागि अनमोलले लगेको १० लाख रुपैयाँ र ६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेकोले उक्त रकमसहितको क्षतिपूर्तिको माग दाबी गरेका छन् ।