Kath khabar
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, ११ जना घाइते

 

                 चैनपुर, असोज १७ । बझाङमा मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका-११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । भूकम्पमा परी ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा जयपृथ्वी नगरपालिका-११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका-७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका-७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा-३ की १५ वर्षीया आँसु रोकाया, मष्टा-१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका-६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका-३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका-१० की २० वर्षीया रमा परियार रहेका छन् ।

भूकम्पबाट बझाङमा १ सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बझाङमा धेरैजसो विद्यालयमा भागदौड र ढुङ्गा खसेर विद्यार्थी घाइते भएका थिए । जिल्ला अस्पतालमा भूकम्पको त्रासले सुत्केरीलाई बाहिर ल्याएर प्राङ्गणमा सुत्केरी गराइएको थियो ।

यस्तै अछाममा भूकम्पका कारण ५ जना घाइते भएका छन् । यहाँ एउटा सरकारी भवन पूर्ण रुपमा क्षति भएको छ भने ५ वटामा आंशिक क्षति पुगेको छ । यस्तै, एउटा घरमा पूर्ण र ३ वटा घरहरु आंशिक रुपमा क्षति भएको छ । बैतडीमा १ जना घाइते भएका छन् । यहाँ एउटा सरकारी भवन आंशिक रुपमा क्षति हुँदा २ वटा घरहरुमा पूर्ण रुपमा क्षति पुगेको छ ।

त्यसैगरी, दार्चुलामा एउटा सरकारी भवन आंशिक रुपमा क्षति हुँदा डडेल्धुरामा एउटा घर पूर्ण र ४ वटा घरहरु आंशिक रुपमा क्षति भएको छ । बझाङमा मंगलबार राति पनि बेला बेला भुकम्पले हल्लाइरहेको बताइएको छ । ठुलो भुकम्प  पछि सानो सानो कम्पन आउने क्रम जारी रहेको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।  त्यस अघि २ बजेर ४० मिनेटरमा बझाङ नै केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । सुदूरपहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्ला र  राजधानी काठमाडौंमा पनि भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update