Kath khabar
रिगललाई जेलमै राख्नुपर्ने माग सहित भारतीले शुरु गरिन् अनशन

 

                    काठमाडौं, असोज १७ ।  भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहा विरुद्ध अनशन शुरु गरेकी छन् ।

माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन शुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन्।अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्न ।’

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन माथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर ३ वर्ष देखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

कैद मिनाहा दिने राष्ट्रपतिको सोही निर्णय विरुद्ध चेतनकी श्रीमती भारती अनशन बसेकी हुन् । हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको उनले जानकारी दिइन् । रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update