काठमाडौं, असोज १७ । काठमाडौंको न्यूरोड मखन गल्लीस्थित सानो पशुपतिमा इन्द्रजात्रा हेर्न गएका किशोरको हत्या गरेको अभियोगमा चारजना पक्राउ गरेका छन् ।
काठमाडौं महानगरपालिक-२४ हनुमानढोका परिसर अगाडि ओखलढुङ्गा लिखु गाउँपालिक-४ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिक-१९ घर भई हाल ललितपुर लुकुसी बस्ने २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिक-१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडा उपमहानगरपालिक-२ घर भई हाल काठमाडौं महानगरपालिक-२४ बस्ने १९ वर्षीया भुमी मल्ल र ललितपुर गोदावरी नगरपालिक-५ घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।
धारिलो हतियार प्रहारबाट सोमबार राति गम्भीर घाइते भएका सनि कार्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौं महानगरपालिक-२४ मखनबाट, भुमी मल्ललाई काठमाडौं क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिक-१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ ।