बाँके, असोज १८ । नेपालगञ्जमा मंगलबारदेखि लगाइएको कर्फ्यू दिउँसोको लागि हटाइएको छ । अवस्था केही सहज बन्दै गएपछि अहिले बिहान ८ बजेबाट कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
अब राति ८ बजेबाट भोलि बिहान ६ बजेसम्म कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ । दिउँसोको समयमा कर्फ्यू हटे पनि सम्भावित जोखिमलाई ख्याल गरेर निषेधाज्ञा यथावत् गरिएको छ ।
कर्फ्यु हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । बुधवारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो।
नरैनापुरका एक युवाले सामाजिक सञ्जाल फेसबुक पेजमा इस्लाम धर्म विरुद्ध स्टाटस लेखेको विरोधमा इस्लाम धर्मावलम्बीहरूले आइतबार नेपालगन्जमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनको विरोधमा हिन्दू धर्मवलम्बीले प्रदर्शन गर्दा तनावको स्थिति बनेपछि परिस्थितिलाई मध्यनजर गर्दै कर्फ्यु जारी गरिएको थियो ।