Kath khabar
ग्वार्कोको ‘फ्लाइ ओभर’ समयमै सकाउन अहिले दैनिक २१ घण्टासम्म काम

 

                     ललितपुर, असोज १८ । ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’ निर्धारित समयमै निर्माण सम्पन्न गर्न दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ । केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि बढाइएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

आगामी फागुन १२ गतेसम्म निर्माण सक्ने गरी अहिले राति पनि काम भइरहेको “बिहान सबेरै काम सुरु गरेर रातिसम्म काम भइरहेको छ”, केन्द्रका इञ्जिनियर राकेश महर्जनले बताउनुभयो । “कामदारले सिफ्टअनुसार कहिलेकाहीँ रातभर र कहिलेकाँही राति १२ बजेसम्म काम गरिरहेका छन् । आगामी पाँच महिनामा सडकको बीचको पुल निर्माण पूरा हुने र दायाँबायाँ पहुँच सडकको काम पनि समानान्तररुपमा गर्न सकिन्छ । अहिले काम गरेको गति हेर्दा निर्माण व्यवसायीले पनि काम समयमै सकाउने गरी काम भइरहेको देखिन्छ ।” उहाँले भन्नुभयो ।

हाल निर्माणस्थलमा पाइल (जगमा राखिने कुरा) को काम भइरहेको छ । भदौमा उपकरण आएपछि यसको काम भइरहेको इञ्जिनियर महर्जनले जानकारी दिनुभयो । अहिलेसम्म आठ पाइल सकिएको छ । एउटा पाइल बनाउन कम्तीमा दुई दिन लाग्ने उहाँको भनाइ छ । एउटा साइडमा १२ र अर्काेमा १२ गरी जम्मा गरेर २४ पाइल चाहिनेमा अहिलेसम्म सात पाइलको काम सकिएको हो ।

‘फ्लाइ ओभर’को माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) लागि आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ । पाइलको समस्याका कारण दुई/तीन महिना काम रोकिए पनि अहिले निरन्तर भइरहेको उहाँले बताउनुभयो ।

अब पुल चढ्ने ‘र्‍याम्प वाल’ बनाउन बाँकी रहेको इञ्जिनियर महर्जनले बताउनुभयो । गाडी चढ्नका लागि आवश्यक आरइ वाल (पर्खालको प्रकार) चाहिने र त्यसका लागि ‘प्यानल’ तयारी अवस्थामा छ । निर्माणको समयमा बीचको लेन बन्द भए पनि अहिले ट्राफिक प्रहरीले छेउछेउका लेनबाट सवारीसाधन नियमित सञ्चालन गरेको छ । सवारीसाधन आवागमनमा सकेसम्म कम बाधा हुने गरी निर्माणको काम भइरहेको केन्द्रले जनाएको छ ।

काठमाडौँ उपत्यकाको चक्रपथको ट्राफिक चापलाई व्यवस्थापन गर्न सरकारले ‘फ्लाइ ओभर’ निर्माण अघि बढाएको हो। फ्लाइ ओभर निर्माणपछि सातदोबाटो-कोटेश्वर खण्ड, मङ्गलबजार-इमाडोल हुँदै लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित र व्यवस्थित आवागमन गर्न सुविधा हुने अपेक्षा गरिएको छ ।

‘फ्लाइ ओभर’मा बालकुमारीतर्फ तीन सय २० मिटर लम्बाइको र सातदोबाटोतर्फ एक सय ८५ मिटरको र्‍याम निर्माण गर्न लागिएको छ । विसं २०७८ फागुनमा आशीष समानान्तर रेलिगेर जेभीले रु १७ करोड छ लाखमा निर्माणको जिम्मा पाएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update