काठमाडौं, असोज १८ । रिगललाई दिइएको आममाफीका विरुद्ध परेको रिटमा सुनुवाई सकिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको हो ।
नेपालगन्जका योगराज ढकाल भनिने ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी हुन् । २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग रिगल विरुद्ध थियो ।
नेपालगन्जकै चेतन मानन्धरको हत्या प्रकरणमा रिगललाई बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा रिगलले राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका थिए ।
यस्तै आजको सदनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रिगललाई आममाफी दिने सरकारको निर्णय गलत भएकाले सरकारले त्यसको जवाफ दिनुपर्ने बताएका छन् ।