Kath khabar
प्रहरीले दीपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा गरी बनायो सहायक हवल्दार

 

                  काठमाडौं, असोज १८ ।  नेपाल प्रहरीले नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा गरेर सहायक हवल्दार बनाएको छ ।

१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलिया विरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह बढुवा गरेको हो । सुदूरपश्चिमबाट क्रिकेटमा उदाएका दीपेन्द्रले दुर्लभ किर्तिमान बनाएपछि चर्चामा छन्।

नेपाल पुलिस क्लबका कप्तान समेत रहेका ऐरीले चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलिया विरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका थिए।

सन् २०१७ को मार्च ११ मा केन्या विरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका २३ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१८ मा नेदरल्याण्ड विरुद्धको खेलबाट नेपाली टोलीबाट ओडीआईमा डेब्यू गरेका थिए ।

अहिलेसम्म नेपालका तर्फबाट ५२ ओडीआई म्याच खेलेका ऐरीले ८८९ रन बनाएका छन्। ४५ टी-२० प्रतियोगितामा नेपालका लागि १ हजार १५५ रन बनाएका छन् ।

उनले अहिलेसम्म खेलका अन्तर्राष्ट्रिय खेलमा ओडिआईमा ३६ र टी-२० मा २२ विकेट लिएका छन्।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update