Kath khabar
१९औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पहिलो पदक

 

                 हाङ्झाउ, काठमाडौं, असोज १९ ।  चीनको हाङ्झाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डी तर्फ कास्य पदक प्राप्त गरेको हो । 

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१-१७ अङ्कले पराजित गरेको हो । 

नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै, भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।  

महिला कबड्डी तर्फ नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्लादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।  

यसअघि नेपालले पहिलो खेलमा सोमवार बङ्लादेशलाई ३७-२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलवार इरानसित १९-४३ अङ्कले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update