Kath khabar
मनाङको भिरबाट ६९ वर्षीय अमेरिकी पर्यटकको लडेर ज्यान गयो

 

                     मनाङ, असोज १९ ।  मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको ज्यान गएको छ । भिरबाट लडेर  ६९ वर्षीय चाल्स केथ डेभिजको ज्यान गएको हो । 

डेभिज बुधवार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा ६ च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङको सदरमुकाम चामे आउँदै गर्दा भिरबाट लड्नुभएको हो । 

बेँसीसहर–चामे सडक खण्डअन्तर्गत मनाङको नासो गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधवार राति उहाँ सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदी किनारमा खस्नुभएको मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उहाँको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो ।

उपचारकै क्रममा बिहीवार बिहान उहाँको ज्यान गएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । डेभिजको शव परीक्षणका लागि हेलिकप्टरमा बिहीवार त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update