Kath khabar
उपत्यकामा चाडपर्व नजिकिँदै गर्दा बढ्न थाल्यो चोरी


               काठमाडौं, असोज १९ ।  चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चोरीका घटना बढ्न थालेका छन् । घरमा कोही नभएको मौका छोपी दिउँसै समेत ताला फुटाएर तथा मोटरसाइकल चोरीका घटना बढ्न थालेको प्रहरीले जनाएको छ । 

हरेक वर्ष दशैंको मुखमा चोरीका घटना बढ्ने गरेका छन् । यो वर्ष उपत्यकामा चोरीका घटना देखिन थाले पछि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ । खासगरी चक्रपथ बाहिरका एकान्त बस्तीमा चोरी हुन थालेको प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडपर्वको समयमा चोरी लगायत अपराध बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मातहतका प्रहरीलाई परिपत्र गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाका अनुसार चाडपर्वलाई थप जनशक्ति समेत माग गरी विशेष सुरक्षा योजना बनाउने तयारी भइरहेको छ । ‘चाडपर्वलाई सुरक्षित बनाउने गरी योजना बनाइरहेका छौँ,’ उनले भने । 

उपत्यका प्रहरी कार्यालयले नजिकिँदै गरेको बडादशैं, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवधिभर कालोबजारी बढ्न सक्ने तथा अन्य अपराध बढ्न सक्ने भएकाले न्यूनीकरणका लागि जनचेतना मूलक पर्चा पम्प्लेट बनाएर वितरण गर्न निर्देशन दिएको छ । जिल्ला प्रहरी परिसरले १० हजार तथा वृत्तले ७ हजार र प्रभागले ५ हजारका दरले यस्ता पर्चा वितरण गर्न भनिएको छ । खाने कुरामा बेहोस हुने औषधि मिसाएर लुटपाट गर्ने, तर चाडपर्वमा धेरैजना उपत्यका बाहिर जाने भएकाले खाली घरमा चोरी हुने भएकाले प्रहरीले सचेतना बढाउन लागेको हो । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update