ओस्लो, असोज १९ । यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउनु हुने भएको छ । महिला विरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ ।
मोहम्मदी अहिले इरानको जेलमा हुनुहुन्छ । इरानको सरकारले उहाँलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटकसम्म उहाँ दोषी ठहर भइसक्नुभएको छ । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।
नोबेल शान्ति पुरस्कार आउँदो डिसेम्बर १० मा वितरण गरिने छ । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्विडेनमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ ।
त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने ५ सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ । प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा ९ लाख ९० हजार अमेरिकी डलर पाउँछन् । यदि एक भन्दा बढी विजेता भएमा त्यही रकम उनीहरू बीच भाग लगाइन्छ ।
सन् २००३ मा नोबेल पुरस्कार जितेकी सिरिन एबादी नेतृत्वको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष पनि हुन् मोहमदी। नोबेल शान्ति पुरस्कारको १२२ वर्षको इतिहासमा यो पुरस्कार जित्ने उनी १९ औँ महिला हुन्। जुन डिसेम्बर १० मा नर्वेको ओस्लोमा वितरण गरिनेछ।