काठमाडौं, असोज २० । करिब ६१ किलो सुन तस्करीको मुद्धामा पक्राउ परेकाहरु मध्ये एक जना बाहेक सबैलाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
पक्राउ परेकामध्ये एकजना रुकमिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।
सुन तस्करी प्रकरणमा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलीका रूपमा प्रयोग भएको पाइएको थियो । हङकङबाट सुन नेपाल ल्याउँदा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलीका रूपमा प्रयोग भएको पाइएको सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख थियो ।
प्रतिवेदनमा भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको थियो । सरकारी वकिल कार्यालयले पनि सोही मुताविक अदालतमा मुद्धा दायर गरेको थियो ।
अभियोगपत्र अनुसार तस्करीमा संलग्न मुख्य व्यक्तिहरू मिस ली र मिस्टर लिन रहे पनि नेपाल सुन ल्याउने चिनियाँ नागरिकहरूले योजनाबद्ध रूपमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बतियन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, नेपाली नागरिकहरू किशोर बस्नेत, सुमन खरेल, शिव सर्राफ र हर्कराज राईलाई प्रयोग गरेको देखिएको थियो ।
अदालतले दोलखाको मेलुङ गाउँपालिका–३का रामकुमार भुजेल, सोही ठाउँका दिलिप भुजेल, बुटवलका सुमन खरेल, सुनचाँदी व्यवसायी शिवकुमार सर्राफ, दावाको सहयोगी मानिएका किशोर बस्नेत, भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, विमानस्थल भन्सार कार्यालयका जाँचकी कुमार ढकाल र भन्सारमा एक्स–रे हेर्ने नायब सुब्बा सरोज श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।