काठमाडौं, असोज २० । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना ६ ख ५१ ९६ नम्बरका ट्रक चालक मकवानपुरको भिमफेदी गाउँपालिका २ भैंसेका २८ वर्षीय राजन वि.क., बा २ ख ८२ ०५ नम्बरको मिनी ट्रक चालक रोल्पाको जुरा घर भएका २७ वर्षीय दिपक वि.क. र बा ५ ख ५२ ७७ नम्बरका हाईस चालक धादिङको गल्छी गाउँपालिका ५ का ३४ वर्षीय रमेश कमरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगाती पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले हिजो ९ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए ।
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भयो ।
आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न सकिने छ ।