तेल अबिब, असोज २१ । इजरायल र हमास बीच गाजापट्टी क्षेत्रमा भएको गोलाबारीमा २५० जनाभन्दा धेरैको ज्यान गएको छ । आक्रमणमा परी ७ सय जनाभन्दा धेरै इजरायली नागरिक घाइते भएका छन् । प्यालेस्टाइनी लडाकू समूह हमासले हिजो देखि इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण थालेको हो ।
अमेरिका, भारत, ईयू लगायत विश्व समुदायबाट यो आक्रमणको निन्दा गरिएको छ । ह्वाइट हाउसले विज्ञप्ति निकालेर अमेरिकाले घटनाको कडा एवं स्पष्ट शब्दमा निन्दा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकू समूहले गरेको आक्रमण पछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताउनु भएको छ।
युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गर्नुभएको छ । आक्रमण प्रति बेलायत, फ्रान्स, जर्मनी, यमन लगायतका देशले पनि चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ ।
विश्व समुदायले युद्ध अन्त्य र स्थायी शान्ति कायम गर्न दुवै पक्षसँग आह्वान पनि गरेका छन् । इरानले भने हमास समूहले इजरायल माथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भन्नुभएको छ ।
इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले रकेट आक्रमण गर्दा त्यहाँ रहेका केही नेपाली पनि घाइते भएका छन् । तेल अबिबस्थित नेपाली राजदूतावासले ९ जना नेपाली घाइते भएको पुष्टि गरेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । अन्य केही आक्रमणकारीको घेराबन्दीमा परेको समेत दूतावासले जनाएको छ ।
नेपाली दूतावासले घेराबन्दीमा परेका नेपाली र घाइते नेपालीको उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ ।