काठमाडौं, असोज २१ । गत मंगलबार देखि काठमाडौं उपत्यकाका माछा पसल बन्द छन्। माछा किन्न ग्राहकहरू पुगे पनि व्यवसायीले पसल खोलेका छैनन्। सरकारले भारतबाट आयात गर्ने माछामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको र भण्डारणका लागि महँगो पर्ने गरी प्रक्रिया तोकेको भन्दै व्यवसायीले आन्दोलन थालेका हुन्।
सरकारले ताजा माछा आयातका लागि प्रयोग हुने ‘एचएस कोड’ (भन्सार प्रक्रियामा वस्तुको पहिचानको लागि निर्धारित संकेत अंक) भन्सार विभागले स्थगन गरेपछि आफूहरूलाई समस्या भएको कालीमाटीमा माछा पसल संचालन गर्ने विपिन साहले बताए। एचएस कोड पाएका वस्तुको आयातमा भ्याट नलाग्ने हुँदा कोड स्थगित गरेपछि भ्याट तिर्नुपर्छ।
भन्सार विभागले गत भदौ १९ गते माछा आयात हुनेमध्ये एउटा उपशीर्षक स्थगन गर्ने आन्तरिक निर्देशन जारी गरेको थियो। आर्थिक ऐन २०८० को दफा ५ को उपदफा ३ अनुसारको अनुसूची-१ मा भएको व्यवस्था परिवर्तन गरेर विभागले निर्देशन सहितको परिपत्र जारी गरेको हो। उक्त अनुसूचीको ०३.०२ मा ताजा वा चिसो पारेको माछा र शीर्षक ०३.०३ मा हिमीकृत (फ्रोजन) गरिएको माछा वर्गीकरण हुने व्यवस्था छ।
यो व्यवस्थाले हिमीकृत गरिएका माछा समेत भन्सार कार्यालयहरूबाट ताजा वा चिसो पारेको माछाको रूपमा वर्गीकरण भई जाँचपास हुनसक्ने भएको हुँदा राजस्व संकलनमा असर पर्न जाने देखिएको विभागको परिपत्रमा उल्लेख छ। सूचना प्रविधि पूर्वाधार शाखालाई सम्बोधन गरिएको परिपत्रमा भनिएको छ, “सम्बन्धित भन्सार कार्यालयबाट शीर्षक ०३.०२ कै माछा भएको यकिन गरी विभागमा अनुरोध गरेमा संचालन गर्ने गरी हाललाई शीर्षक ०३.०२ अन्तर्गतका सबै उपशीर्षक आसिकुडा प्रणालीमा स्थगन गर्ने।”