काठमाडौं, असोज २२ । कार्ड अभाव हुँदा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आकस्मिक बाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए ।
अहिले आकस्मिक रुपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको ३ साता भन्दा बढी भएको विभागले जनाएको छ । नियमित रुपमा हुने छपाइ रोकिए पछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको सङ्ख्या भने बढिरहेको छ । थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरुको दाबी छ ।
अहिले खरिद गरिएका कार्ड पहिलो पटक ६ लाख आउन लागेको र त्यसपछि दोस्रो पटकमा पनि ६ लाख खरिदका लागि प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । सरकारले सेवाग्राहीलाई सजिलो रुपमा सेवा दिन ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको भए पनि सेवा व्यवस्थित बनाउन नसक्दा पटक पटक दुःख पाइरहेका छन् ।
कहिले आवश्यक उपकरण वा सामग्री खरिदका कारण त कहिले व्यवस्थापनका कारण नागरिकले समयमा अनुमतिपत्र पाउन सकेका छैनन् । एसियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि परियोजना अन्तर्गत भएको सम्झौताका आधारमा ४ प्रिन्टर र ३ लाख ५० हजार कार्ड खरिद गरिएको थियो ।
अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डमा समय समयमा समस्या आइरहेको सेवाग्राहीको गुनासो छ । लामो समय रोकिएर एकैपटक कार्ड छापिँदा यातायात कार्यालयमा सेवाग्राहीको भिड हुने गरेको छ ।