काबुल, असोज २२ । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परेर २ हजार ५३ जनाको मृत्यु भएको हो । प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तर–पश्चिममा रहेको दुर्गम क्षेत्रमा भूकम्प गएको थियो ।
‘हताहतको संख्या धेरै देखिएको छ’ सरकारका उपप्रवक्ता बिलाल करिमीले भने, ‘मृत्यु हुनेको संख्या २ हजार भन्दा बढी छ । उद्धारको धेरै प्रयास भइरहेका छन् ।’ भूकम्पमा १२ सयभन्दा बढी मानिस घाइते भएका र १३ सय घर भत्किएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बसिर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएका थिए ।
स्थानीय नेक मोहम्मदले स्थानीय समयअनुसार बिहान ११:०० बजे पहिलो भूकम्प आउँदा आफू काममा रहेको, तर भूकम्प पछि घर फर्किँदा त्यहाँ केही पनि बाँकी नदेखेको बताए ।
भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भने, ‘अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।’
डब्लुएचओले शनिबार राति क्षतिको विवरण आउने क्रम जारी रहेकाले तत्काल यति नै हताहत भएको भन्ने अनुमान गर्नु हतार हुने बताएको थियो ।