काठमाडौं, असोज २३ । विश्व मानसिक स्वास्थ्य दिवस, १० अक्टोबरमा, मानसिक रोगले विश्वभरि लाखौं मानिसहरूको जीवनमा पार्ने प्रभावहरूबारे चेतना जगाउने र हामी सबैलाई शिक्षित र जानकारी गराउन मद्दत गर्ने दिन हो।
संसारभरी ४ मध्ये १ जनालाई आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन्छ। लगभग ४ करोड ५० लाख मानिसहरू मानसिक स्वास्थ्य समस्याको साथ बाँचिरहेका छन्, यो विश्वको सबैभन्दा ठूलो स्वास्थ्य समस्याहरू मध्ये एक हो। तैपनि मानिसहरू विरलै उनीहरूको मानसिक स्वास्थ्य समस्याहरूको बारेमा कुरा गर्छन् किनभने मानिसहरू अझै धेरै सचेत हुन जरुरी छ।
विश्व मानसिक स्वास्थ्य दिवस पहिलो पटक १९९२ मा मनाइएको थियो। यो मानसिक स्वास्थ्य समस्याहरू कति सामान्य छन् भन्ने जागरूकता बढाउन, यस विरुद्ध लड्न र मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूका लागि राम्रो अवस्था र उपचारको लागी अभियानको लागि सिर्जना गरिएको थियो।
विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागी ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदै छ ।
त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा. सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानव अधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गर्ने बताउँछन् ।
मानसिक स्वास्थ्यबारे भन्छन् ‘जो व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्छ र दैनिक जीवनमा आउने तनावलाई त्यो क्षमताले व्यवस्थापन गरेर आफ्नो जीवनमा सकारात्मक किसिमको भूमिका निर्वाह गर्छ भने त्यो स्थिति नै मानसिक स्वास्थ्य र ‘मेन्टल वेयल विङ हो’ ।’
उनका अनुसार मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । ‘युद्ध, अशान्ति, आर्थिक संकट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निरासा, रिस, द्वेष लगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न सक्छ’, डा. ओझा भन्छन्, ‘व्यक्ति आफूले यस्ता तनाब बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ । आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ ।’
दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनको सुझाव छ । उनका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको संख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने उनी बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत ५ वर्ष देखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणेन्द्र बरालले बताए । उनका अनुसार मानसिक स्वास्थ्यमा बढ्दो सचेतना तुलनात्मक रूपमा बढे पनि यसको उपचारमा पहुँच बढाउन चुनौती छ ।
‘सरकारी स्वास्थ्य संस्थामा मनोचिकित्सकहरू कम हुनुहुन्छ । त्यसमा पनि उहाँहरू शहर केन्द्रित हुनुहुन्छ’, शाखा प्रमुख डा. बराल भन्छन्, ‘दूरदराजका २२ जिल्लामा महिनामा एक पटक मनोचिकित्सकले मानसिक स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ ।’सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यमा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ ।