Kath khabar
नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा आएको समस्या समाधान

काठमाडौं,  असार ९ । नेपाल टेलिकमले जीएसएम मोबाइल सिस्टममा आएको समस्या समाधान भएको जानकारी दिएको छ । टेलिकमको जीएसएम मोबाइल सिस्टममा आज बुधबार बिहान आएको अप्रत्याशित समस्या तथा सोको समाधान गरिएको जानकारी दिएको हो ।

टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको टेलिकमले जनाएको छ । सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाईएकाले करीब २ घण्टामै सेवा सुचारु गर्न सकिएको हो ।

सो अवधिमा जिएसएम मोबाइलको २ जी, ३ जी र ४ जी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भ्वाईस ओभर एलटिई (भोल्टी)मा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोन (साना नन स्मार्ट फोनमा समस्या नदेखिएको जानकारी प्राप्त भएको टेलिकमले जनाएको छ । मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने विश्वास दिलाउन चाहन्छौं । कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए तापनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा समेत मागेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update