काठमाडौं, असोज २३ । मनसुन जसलाई पूर्वीय वायु भनिन्छ नेपालबाट क्रमशः बाहिरिएको छ । पूर्वीय वायुको निस्तेज सँगै पश्चिमी वायु बिस्तारै सक्रिय हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिए पछि देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रवेश शुरु भएको हो। पूर्वबाट प्रवेश गर्ने भएकाले मनसुनलाई पूर्वीय वायु भनिन्छ भने पश्चिमबाट भित्रिने वायुलाई पश्चिमी वायु भनिन्छ।
नेपालको पश्चिमी भागमा पश्चिमी वायुको सामान्य प्रभाव शुरु भएको छ । अहिले पश्चिमी वायु त्यस्तो धेरै सक्रिय रूपमा आएको होइन, यसले पश्चिमी क्षेत्रमा सामान्य वर्षा भने गराउनसक्छ। मनसुन पूरै नेपालबाट हटे पछि सशक्त रूपमा प्रवेश गर्ने पश्चिमी वायुले भने हिमाली भेग र आसपासका पहाडमा हिमपात गराउँछ। पश्चिमी वायुले खासगरी चिसो लिएर आउने गर्छ ।
हाल सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णालीका अधिकांश स्थान र लुम्बिनी प्रदेशको पश्चिमी भागबाट मात्र मनसुन हटेको छ। त्यसयता देखि पूर्वसम्म अझै मनसुन वायुको प्रभाव रहेको छ । मौसम महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायु र पश्चिमी भागमा पश्चिमी वायुको आंशिक प्रभाव छ।