Kath khabar
इजरायल युद्धमा हालसम्म १५०० भन्दा बढीको मृत्यु, जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीको उद्धार, स्वदेश फर्किन २०० भन्दा धेरैको रजिष्ट्रेशन

 

                 तेल अबिब, असोज २३ ।  इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमास बीचको युद्ध जारी छ। युद्धमा दुवैतर्फ गरी अहिलेसम्म १५०० भन्दा बढी मानिस मारिएका छन्।

दुवैतर्फको चेतावनीलाई मध्यनजर गर्दा युद्ध कहिले अन्त्य हुन्छ भन्ने अवस्था छैन। इजरायलमा हमासले शुरु गरेको युद्धको अन्त्य आफूले गर्ने बताइ रहँदा हमासले भने इजरायलले गाजामा थप आक्रमण गरे आफूले बन्धक बनाएका इजरायली अधिकारी सहित सबैको हत्या गर्ने चेतावनी दिइसकेको छ।

इजरायलको जोखिम युक्त क्षेत्रबाट लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।द्वन्द्व प्रभावित क्षेत्रबाट सम्पर्कमा आएका सबै नेपालीको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको इजरायलको तेल अबिबमा रहेको नेपाली दूतावासले जानकारी दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरु सुरिक्षत ठाउँमा छन् । युद्धका कारण भयभित भएका उनीहरुलाई संयमता अपनाउन पनि लम्सालको आग्रह गर्नुभएको छ । स्वदेश फर्किन चाहनेहरुका लागि तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

सरकारले पहिलो प्राथमिकतामा राखेर इजरायल सरकारसँग समन्वय गरेर उनीहरुलाई स्वदेश फर्काउन काम थालिसकेको पनि उहाँले बताउनुभयो । अहिलेसम्म २०० भन्दा धेरैले नेपाल फर्किन अनलाइन रजिष्ट्रेशन भरेका छन् ।

नेपाल फर्कन इच्छुकहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग समन्वय भइरहेको छ । नेपाल फर्किन इच्छुक नेपालीले दूतावासको वेबसाइटमा राखिएको लिङ्कमा क्लिक गरी रजिष्ट्रेशन भर्न सक्ने छन् ।

इजरायलमा प्रविधिको पहुँच रहेकाले अनलाइन रजिष्ट्रेशन गर्न नेपालीलाई समस्या नहुने पनि मन्त्रालयको भनाइ छ । रजिष्ट्रेशन सम्बन्धी थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । रजिष्ट्रेशनको काम सकिए पछि नेपालबाट विमान पठाएर उनीहरुलाई ल्याउने सरकारको तयारी छ ।

यस्तै, दूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवम् सतर्क भइ दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि आग्रह गरेको छ । यस्तै, बेपत्ता भएका १ जना नेपाली विद्यार्थीको पनि खोजी भइरहेको दूतावासले जनाएको छ ।

दूतावासले घाइते भएका ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा २ जनालाई तेल अबिबमा सुरक्षित राखिएको जनाएको छ । यस्तै, ज्यान गुमाएका १० जना विद्यार्थीकोे शव नेपाल ल्याउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवम् सहकार्य थालेको पनि जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update