Kath khabar
हमासका लडाकुहरूले इजरेलमा किन गरे भीषण आक्रमण ?

 

               काठमाडौं, असोज २४ । हमासले गरेको अप्रत्याशित आक्रमणको जबाफमा इजरेलले गाजा क्षेत्रमा चार दिनदेखि निरन्तर हवाई हमला गरिरहेको छ।

गत शनिवार प्यालेस्टिनी लडाकु समूहले हमासले इजरेलमा भीषण आक्रमण गर्दा ज्याने जानेहरूको सङ्ख्या १,२०० पुगेको छ। उक्त आक्रमणलाई इजरेलको ७५ वर्षे इतिहासमा भएको सबैभन्दा नराम्रो घटना मानिएको छ।

हमासले कुनै चेतावनीबिनै आक्रमण गर्‍यो, तर त्यो इजरेल र प्यालेस्टाइनबीत दशकौँदेखि जारी तनावको नतिजा थियो। उक्त समूहका लडाकुहरूले गाजा स्ट्रिपनजिकै इजरेली बस्तीहरूमा प्रवेश गरी सयौँ मानिसलाई मारिदिए भने थुप्रैलाई बन्धक बनाएर लगे। मृतकमध्ये १० नेपालीसहित विदेशी नागरिकहरू पनि छन्।

हमास के हो?
हमास एउटा प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो। गाजा स्ट्रिपमा अहिले त्यस समूहको सत्ता छ। हमासले इजरेलको विनाशको शपथ लिएको छ र सन् २००७ मा गाजाको सत्ता हातमा लिएयता उसले कैयौँ पटक इजरेलसँग लडाइँ गरिसकेको छ।

ती लडाइँका क्रममा उसले इजरेलमाथि रकेटहरू प्रहार गरेको छ अथवा अरू समूहलाई पनि प्रहार गर्न लगाएको छ। इजरेलले पनि लगातारजसो हमासविरुद्ध हवाई हमलाहरू गर्दै आएको छ र इजिप्टसँग मिलेर सन् २००७ यता गाजा स्ट्रिपमाथि नाकाबन्दी गरेको छ। आफ्नो सुरक्षाका निम्ति त्यसो गरेको इजरेलको दाबी छ।

इजरेल, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेका साथै विभिन्न मुलुक समग्रमा हमासलाई अथवा केही अवस्थामा उसको सैन्य सङ्गठनलाई आतङ्कवादी समूह ठान्छन्। हमासलाई इरानले सघाउँदै आएको छ। उसले सो समूहलाई आर्थिक सहायता उपलब्ध गराउनुका साथै अस्त्र तथा प्रशिक्षण दिँदै आएको छ।

प्यालेस्टिनी लडाकु समूह हमासले इजेरलमाथि अभूतपूर्व हमला गरेको छ। उक्त समूहका लडाकुहरूले गाजा स्ट्रिपनजिकै इजरेली बस्तीहरूमा प्रवेश गरी सयौँ मानिसलाई मारिदिए भने थुप्रैलाई बन्धक बनाएर लगे। मृतकमध्ये १० नेपालीसहित विदेशी नागरिकहरू पनि छन्।

हमास र इजरेलबीच निरन्तर तनाव रहिआएको छ। तर हमासले शनिवार बिना कुनै चेतावनी इजरेलभित्र आक्रमण गर्‍यो। हमासले इजरेलमाथि हजारौँ रकेट प्रहार गर्‍यो भने उसका लडाकुहरूले सीमामा लगाइएको तारबार हटाए अनि इजरेली समुदायमाथि अतिक्रमण गरे, सयौँलाई मारिदिए र कैयौँलाई बन्धक बनाएर लगे। गाजामा लडाकुहरूको अखडालाई लक्ष्य बनाएर इजरेलले तत्कालै हवाई हमलाहरू शुरू गर्‍यो।

प्यालेस्टाइन के हो र यी घटनासँग उसको के सरोकार छ?
वेस्ट ब्याङ्क र गाजा प्यालेस्टिनी भूभागको रूपमा चिनिन्छ। साथै ईस्ट जेरुसलेम र इजरेल बनेको सबै भूभाग रोमनकालदेखि प्यालेस्टाइनको रूपमा चिनिन्छ। बाइबलमा उल्लेख गरिएअनुसार ती भूभाग यहुदी अधिराज्यहरू हुन् जसलाई यहुदीहरूले आफ्नो प्राचीन मातृभूमिका रूपमा हेर्छन्।
 
सन् १९४८ मा इजरेल एउटा राज्यको रूपमा घोषणा भयो। यद्यपि इजरेललाई देशको रूपमा मान्यता नदिएकाहरूले अझै त्यो भूमिलाई प्यालेस्टाइन नै भन्ने गरेका छन्। प्यालेस्टिनीहरूले वेस्ट ब्याङ्क, गाजा र ईस्ट जेरुसलेमलाई समग्रतामा बुझाउन प्यालेस्टाइन नाम प्रयोग गर्छन्।

अब के होला?
हमासका कमान्डर मोहम्मद डेफले प्यालेस्टिनी र अरू अरबहरूलाई “इजरेली कब्जा अन्त्य गर्न” का लागि आफ्नो कारबाहीमा सहभागी हुन आह्वान गरेका छन्।

तर हाम्रा जेरुसलेम संवाददाता योल्यान्ड नेलका अनुसार वेस्ट ब्याङ्क र ईस्ट जेरुसलेममा रहेका वा अन्यत्र रहेका प्यालेस्टिनीहरूले हमास कमान्डरको यो आह्वानलाई सुन्छन् वा सुन्दैनन् भन्ने सबैभन्दा ठूलो प्रश्न रहेको छ। निःसन्देह इजरेलले एउटा सम्भावित युद्ध देखेको छ जुन विभिन्न मोर्चाबाट सुरु हुन सक्छ।

लेबननको शक्तिशाली लडाकु समूह हिज्बुल्लाह त्यसमा संलग्न भयो भने नराम्रो अवस्था आउन सक्छ। इजरेली सेनाले सङ्गठनभित्र व्यापक सुदृढीकरणको निर्देशन दिएको छ। साथै गाजामा हवाई आक्रमण तीव्र पारेको इजरेलले स्थल कारबाही गर्ने योजना बनाइरहेको छ। (बीबीसी नेपाली)
  

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update