न्यु दिल्ली, असोज २४ । मोहम्मद रिजवान र अब्दुल्लाह सफिकको शतकप्रेरित पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंका विरुद्ध ६ विकेटको कीर्तिमानी जित निकालेको छ । रिजवान र सफिले शतक बनाए पछि मंगलबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३४५ रनको लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
विश्वकपको इतिहासमा कुनै पनि टिमले सफलता पूर्वक पूरा गरेको यो नै अहिलेसम्मकै ठूलो लक्ष्य हो । यसअघि सन् २०११ को विश्वकपमा आयरल्यान्डले इङ्ल्यान्डले दिएको ३२८ रनको लक्ष्य पूरा गर्दै यो कीर्तिमान बनाएको थियो ।पाकिस्तानको जितमा मोहम्मद रिजवानले अविजित १३१ रन बनाए । एकदिवसीय विश्वकपमा पहिलो शतक बनाएका रिजवानले १२१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।
३७-२ को कठिन अवस्थामा रहँदा रिजवानले तेस्रो विकेटका लागि ओपनर सफिकसँग १७६ रनको साझेदारी गर्दै पाकिस्तानलाई जितउन्मुख गराएका थिए । रिजवान अघि शतक बनाएका सफिकले १०३ बलमा १० चौका र ३ छक्का प्रहार गरे । एकदिवसीय विश्वकपमा सफिकको पनि यो पहिलो शतक हो ।
साउद सकिलले ३० बलमा २ चौका सहित ३१ रन बनाए । इमाम उल हकले १२ रन थपे । पाकिस्तानका कप्तान बाबर आजम भने यो खेलमा पनि जम्न सकेनन् । उनी १५ बलमा १ चौका सहित १० रन बनाएर पभेलियन फर्किए । अन्त्यमा रिजवानसँगै अविजित रहेका इफ्तिखर अहमेदले १० बलमा ४ चौका सहित २२ रन बनाए ।
श्रीलंकाका दिल्सान मदुसन्काले २ विकेट लिदा महिष थिक्षणा र मथिसा पथिरानाले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले पनि २ ब्याट्सम्यानको सहयोगमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३४४ रनको योगफल खडा गरेको थियो ।
विश्वकपको इतिहासमा पहिलो एकै खेलमा ४ ब्याट्सम्यानले शतक बनाएको यो पहिलो पटक हो । श्रीलंकाका कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्का सहित १२२ रन बनाएका थिए । सदिरा समरा विक्रमाले ८९ बलमा ११ चौका र २ छक्का सहित १०८ रन बनाए । ओपनर पथुम निसान्काले ५१ रन थपे । धनन्जय डी सिल्भाले २५ कप्तान दासुन सनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए ।
पाकिस्तानका हसन अलिले ४ विकेट लिए । १० ओभर बलिङ गरेका अलिले ७१ रन खर्चिए । ह्यारिस रौफले २ विकेट लिदा साहिन साह अफ्रिदी, सदाब खान र मोहम्मद नवाजले समान १ विकेट लिए ।