Kath khabar
हजुर आमाको हत्या गरी फरार कृष्ण भन्ने तोयानाथ १९ वर्ष पछि साधुको भेषमा पक्राउ

 

                  भरतपुर, असोज २४ ।  १९ वर्षअघि हजुर आमाको हत्या गरेको आरोपमा एक साधु पक्राउ परेका छन् । साधु बनेर मन्दिरमा बस्दै आएका ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईंलाई हत्या आरोपमा पक्राउ गरेर प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । उनी सोमबार पक्राउ परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

तोयानाथले वि सं २०६१ मंसिर १४ मा मनकुमारी वाग्लेको हत्या गरेको प्रहरीको आरोप छ । ढुंगा र बाँसको लौराले टाउकोमा हानेर मनकुमारीको हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । हत्या पछि तोयानाथले मनकुमारीको कानको गहना पनि लुटेर लगेको डीएसपी पण्डितले बताए ।

तोयानाथलाई प्रहरीले नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रहरीको सहयोगमा बर्दघाट-४ बाढी पीडितको शिव मन्दिरबाट समाएको हो । चितवनको साविक मेघौली गाविस ३ र हाल भरतपुर महानगरपालिका २८ का तोयानाथ र मनकुमारी सौतेनी हजुर आमा नाति भएको डीएसपी पण्डितले बताए । 

हत्याको समयमा उनी २४ वर्षका थिए। हत्या लगत्तै उनले नवलपरासीको एक होटलमा ४ महिना काम गरेको र त्यसपछि विभिन्न स्थानमा भेष बदली लुकीछिपी हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।

एक वर्षदेखि उनलाई प्रहरीले विशेष सूचिमा राखेर खोजेको थियो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको विशेष सूचनामा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी सुस्ता पश्चिम समेतबाट खटिएको प्रहरी टोलीले हिजो बर्दघाटको शिव मन्दिरबाट उनलाई पक्राउ गरेको हो। उनी त्यहाँ जोगीको भेषमा रहेको पण्डितले जानकारी दिए।

पक्राउ परेका चापागाईलाई जिल्ला अदालतबाट ५ दिनको म्याद ल्याएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update