काठमाडौं, असोज २४ । व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटिरहेका बाँकेका ‘रिगल’ भनिने योगराज ढकालको आममाफीको विरोधमा भएको प्रदर्शन र स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका कारण आज बुधवार दिउँसो काठमाडौंको माइतीघर क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
‘रिगल’ ले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियन्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको छ । आन्दोलनमा एमाले निकट युवा सङ्घका कार्यकर्ताको पनि उपस्थिति रहेको थियो । उनीहरू माइतीघरबाट बानेश्वर तर्फ जिल्ला अदालत अगाडिसम्म पुगेर माइतीघर फर्किएका थिए ।
यस्तै सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै गएको १५ गतेदेखि माइतीघर मण्डलामा दैनिक आन्दोलन गर्दै आएका स्थानीय तहका कर्मचारीहरूले माइतीघर देखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
दुई पक्षको आन्दोलनका कारण दिउँसो माइतीघरबाट बानेश्वर तथा थापाथली क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।