काठमाडौं, असोज २५ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगितको सूचीमा राखिएको छ ।
असोजमा दुई पटक पेसी चढेर पनि अदालतबाटै स्थगित भएको सन्दीपको मुद्दामा बिहीबारपनि स्थगितमा परेसँगै अन्योलता लम्बिएको हो।
काठमाडौँ जिल्ला अदालतमा गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेकोमा फाँट नम्बर २८ मा रहेको सन्दीपको मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितको सूचीमा परेको एक सूचना अधिकारीले बताए ।
लगातार मुद्दा स्थगित हुँदा पछिल्लो समय मानसिक रुपमा दुवै पक्ष कमजोर हुँदै गएको सम्बन्धित वकिलहरूको तर्क छ । सन्दीपले फैसला चाँडो गर्नका लागि जोड दिँदै आएका छन् । मुद्दा किनारा नलाग्दा सन्दीप खेलमा ध्यान केन्द्रीत गर्न सकिरहेका छैनन् । जसले आउँदै गरेको विश्वकप छनोटमा असर पर्न सक्ने सम्भावना रहेको छ ।