Kath khabar
उपल्लो मुस्ताङका स्थानीय बासिन्दालाई चीन जान अनुमति पत्र

 

                   म्याग्दी, असोज २५ ।  मुस्ताङका नेपाल-चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमति पत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुमति पत्र वितरण गर्न शुरु गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले स्थानीय तहको सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय लोमान्थाङमा खटिएका प्रशासनका कर्मचारीले चीन प्रस्थान प्रवेश अनुमति पत्रको आवेदन सङ्कलन गरेको जानकारी दिए । ‘मङ्गलबार देखि आवेदन सङ्कलन भइरहेको छ’, उनले भने, ‘इलाका र जिल्ला प्रशासन कार्यालयमा अधिकृतस्तरका अन्य कर्मचारी नभएकाले म आफै लोमान्थाङ पुगेर अनुमति पत्रमा हस्ताक्षरण गर्ने तयारीमा छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका क्रममा चीनले कोरला लगायत नेपालका १४ व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेश अनुमति पत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको हो ।

प्रवेश पास भएका नागरिक जुनसुकै समयमा पनि चीन जाने र आउने सुविधा पाउनेछन् । बोर्डर पास वितरणका लागि तीन कर्मचारीलाई सोमबार इलाका प्रशासन कार्यालय लोमान्थाङ पठाइएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update