काठमाडौं, असोज २५ । सिन्धुपाल्चोकको चर्चित पर्यटकीय केन्द्र सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केवलकार, ३६० डिग्री स्विङ लगायत साहसिक खेलका गतिविधिहरू सञ्चालनमा आएका छन् ।
कम्पनीका अनुसार, स्विङमा ३६० डिग्रीमा घुमेर ’थ्रिल’को अनुभव गर्न सकिनेछ । यस किसिमको स्विङ नेपालमै पहिलोपटक भएको कम्पनीको दावी छ । कम्पनीले भोटेकोसी खोला माथि २२० मिटर लामो जिपलाइन पनि सुरु गरेको छ । साथै २२० मिटर लामो स्काइ रोप साइकल पनि सञ्चालनमा आएको छ । स्काइ रोप साइकलमा एक जना बसेर चलाउने र जोडि नै बसेर चलाउन मिल्ने गरि बनाइएको छ ।
थ्रिल भ्याली प्रालिले करिब एक करोड रुपैयाँको लगानीमा सुकुटेमा स्विङ सहित विभिन्न साहसिक खेलहरू सञ्चालनमा ल्याएको हो । राफ्टिङ व्यवसाय गर्दै आएका महेन्द्र श्रेष्ठ, सम्झना खड्का र राज केसीको लगानीमामा सुकुटेमा थ्रिल भ्याली सुरु भएको हो । साहसिक खेलका पारखीहरूका लागि लक्षित गरि कम्पनीले सञ्चालनमा ल्याइएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
कति लाग्छ शुल्क ?
कम्पनीले सञ्चालनमा आएको अवसरमा रिसोर्टले आफ्ना ग्राहकहरूका लागि तिहारसम्म विभिन्न छुटको घोषणा गरेको छ । जसअनुसार, स्वीङका लागि ३ सय रुपैयाँ प्रतिव्यक्ति, केबल कारका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ प्रतिव्यक्ति तथा डबल स्काइ साइकलको १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फेमिली पिङका लागि २ सय रुपैयाँ र गुलेली पिङका लागि पनि २ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।
कसरी पुग्ने ?
काठमाडौंबाट दोलालघाट हुँदै सुकुटे पुग्न सकिन्छ । सार्वजनिक तथा निजी सवारी साधनमा सहजै पुग्न सकिने सुकुटे काठमाडौंबाट ६६ किलोमिटरको दूरीमा पर्छ । जहाँ जानका लागि काठमाडौंको बसपार्कबाट सार्वजनिक बसमा करिब ३ सय रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । यसबाहेक सुमो लगायतका गाडीले ५ सय रुपैयाँमा सुकुटेसम्म पुर्याउनेछन् ।